Tuesday 9 March 2021

आज बिहान घुम्दा

धेरै पछि म घर बाहिर हिँड्न गएँ । कोभिडले सताएदेखि जाडोमा बाहिर जान आँट गरेकी थिइन । आज (२५ फागुन ७७) बिहान हिँडेँ, उही टुँडिखेलको सेरोफेरो ।  तर कोरोनाको डर भइरहेको बेला बिहान हिँड्न गाह्रो हुने रैछ । मास्क लगायो, चश्मा बाफ्फिने, नलागाउँ,  भाइरस बाहेक धुँवाँ र धूलो पनि सेवन गरिने । 
सूर्यसित जम्काभेट गर्दै हिँडेँ  । यी त्यै हिँडाईको बेलाका तस्बीरहरू हुन् यी...

यो बिजुली अड्डा नजिकको आकाशे पुलबाट खिचेको, उत्तर पट्टी । खुला बाटो भेटेर बाइकहरू हुँइकिएर  सडक नाप्दै थिए । केही वर्ष अघि  त्यै अड्डा अगाडीको जेब्रा क्रसिङमा मलाई यसै गरि हुत्तिएर आएको बाइकले पछारि दिएर भागेको थियो । अहिले त कसो आकाशेपुल छ ...


त्यै पुलबाट पूर्व पट्टि मन काट्टिने दृश्य छ , कंकृटको भ्यूटावरको ठडिँदै गरेको अस्तिपञ्जर । बस बिसौनी बन्नु पर्ने ठाउँमा टावर बन्दै छ,  बसहरू चाहीँ खुलामञ्चमा पाखा लागेकाछन्, अनि नेताहरू सडकमा आमसभा गर्न बाध्य भएका छन् ...

दक्षिणतिर हेर्दा, पर सेना मुख्यालयको "ह्वाइट हाउस" देखिन्छ । 

शिवरात्रीको दुईदिन अघि, सेना व्यस्त छ टुँडिखेलमा तामझाम गर्न । आज त्यसैको ड्रेस रिहर्सलको तयारी हुने रैछ ।

टुँडिखेलको दक्षिण पट्टी ठूलठुला कटआउट ठडाइएकाछन् ... पहाडबाट नदी झर्दै गरेको, अनि, खोँचको पछाडि हिमाल.. अनि...

त्यो भन्दा पछाडि, माटोको ढिस्कोलाई बेरबार पारेर बनाइएको पहाड र हिमाल माथि, बडेमानको शिवजीको कटआउट ... 

... बिचरा, अलि डेढो पारिदिएछन् शिवजीलाई!

रूखको छाहारी मुनी कुकुरहरू मस्तले सुतीरहेका थिए । 

बिहानीको घाम 'घाइते' काठमाण्डु मलको ऐनामा ठोकिएको छ ...

पूर्व पट्टि पीपलको रूख माझ सूर्य...

फ्लावरिङ पीच (चेरी हैन!) कति राम्रो देखिएको!

सुन्धारा तिरबाट निस्किएको माटोको थुप्रो, पहाडै जस्तो देखिन्छ । यसलाई यत्तिकै राखेर, फुल, बट्यानहरू रोपे गजब हुने थियो । टुँडिखेलको यो अंशलाई पार्कमा परिणत गर्ने उपाय हुने थियो ।  

भद्रकाली नजिकको आकाशे पूलबाट पूर्व हेर्दा, "हङकङ बजार"को डर लाग्दो फैलावट । एउटा गलत आगोको झिल्कोले यो टारपलिन बजारलाई के गर्नसक्छ , कसरी ध्वस्त पार्ला भनेर कसले सोचेको  छ होला? 

त्यहीँ नजिकको रूख... र घाम

मज्जाले फुल्दा त बनमारा पनि कत्ति राम्रो देखिएको!

सिंहदरबार बुलभार्ड । यो बार हटाएर त्यस पछाडिको पिलरहरूलाई काटेर अझै फराकिलो पारेर बेञ्चहरू राखेर मानिस भेटघाट गर्ने, चिया नास्ता गर्ने,   खुला ठाउँ बनाइदिए  कत्ति  राम्रो र रमाइलो हुने थियो । 

धन्य, यो "मार्केट"को निर्माण स्थगित गरिएको छ .... फेरि त्यो भ्यूटावर जस्तो न बिउँतियोस् !

कस्तो बेमोजले दुर्घटना भएको रहेछ यहाँ । बार पनि चट, पेटीभरि डिजेल पोखिएको ...

कोभिडले ल्याएको व्यापारको मन्दी कै कारण होला, टुकुचामा त्यत्ति प्लास्टिकको प्रदुषण रहेनछ अहिले । नत्र यो ठाउँबाट पानी देखिँदैन थियो, प्लास्टिकका सामान, झोलाले टम्म लुकाएको हुन्थ्यो खोलालाई ...

फुलिसकेको बेगमबेली र फुल्न बाँकी शिरिष

भद्रकाली ... र घाम

भक्तजनको पर्खाइमा फूलमालाहरु ...  भारतमा कस्ले हो गरेको जस्तै यहाँपनि चढाइएर मिल्किने फूलहरूलाई धूप बनाउन प्रयोग गरे भगवानहरू कत्ति दंग पर्थे होलान् !

भद्रकालीबाट देखिएको डाँडामाथि बिराजमान शिवजी

अर्को आखाशेपूलबाट देखिएको झण्डै सकिन लागेको नयाँ धरहारा

शिवरात्रीको बँडाईको रिहर्सलको तम्तयारी गरिँदै...

मानिसले रम्न पाउन पर्ने ,तर सुनसान टुँडिखेल...

हुनु पर्ने आर्मी अस्पताल, वा म्युजियम.... तर ठडियो यत्रो आधुनिक समरचना

सैनिक मञ्चको पछाडि सरसफाई गर्नेहरूले मज्जाले बालिदिएछन्  प्लास्टिकपनि ...

आकाश भरि औँला तेर्साएका शिरिषका हाँगा...

सैनिक मञ्च पछाडिबाट  देखियो पर्सी  त्यो मञ्चबाट देखिने दृश्य -- पहाड, हिमाल, शिवजी  र ह्वाइटहाउस !