Showing posts with label ghat. Show all posts
Showing posts with label ghat. Show all posts

Saturday, 29 June 2019

भकारीको व्यथा

 

बागमती किनार फेरि हिँड्न लायक बनाउने जमर्को भइरहेको बेला हिजो हामी १०-१२ जना स्टोरीसाइकल (storycycle) ले आयोजना गरेको "बागमती प्रोमनाडको "२ किलोमिटर बाटो हिँड्यौँ । त्यहाँ आफुले देखेको र सुनेको बारे १-२ ब्लग तयार पार्ने क्रममा यो पहिलो चाहीँ, खालि भकारीको बारेमा । भकारी भन्नाले धान राख्ने भकारी जस्तै नदी किनारको घाटमा ढुङ्गाले बनाइएका गोलोगोलो थुम्का हुन्, जसमाथि फराकिलो भएको कारण लुगा धुने, लुगा वा बिस्कुन सुकाउने काम गरिन्थ्यो, र नदीमा पानी टन्न  भएको बेलामा पानीमा हामफाल्ने ठाउँ को काम पनि गर्थ्यो ।  हामी हिँड्ने क्रममा मन्दिर र अरू धार्मिक तथा कलाकारिताका वस्तुले मेरा आँखा त ताने नै, तर सबै भन्दा मलाई खट्किएको कुरो थियो साँघुरिएको बागमती, जसको प्रमाण थिए, यीनै भकारी, नदीबाट टाढिएका भकारीहरू । त्यसैले यो पहिलो  फोटो ब्लग यसै बिषयमा ।

 
म जन्मिने ताका (६० वर्ष भन्दा अघि) खिचिएको तलको फोटोमा थापाथली, त्रिपुरेश्‍वरका घाटमा लहरै भकारी देखिन्छन् । टन्न बालुवा माथि पातलिएर फैलिएको बागमती‍को पानी घाटको सिँढी र भकारीको पीँधसम्म पुग्ने गर्थ्यो ।
(photo credit: By Etter Studio - bonn_13, CC BY 2.0, https://commons.wikimedia.org/w/index.php?curid=17298488)
 
टोनी हागनले त्यत्ति नै बेला खिचेको अर्को तस्बिरमा बर्षाले बढाएको बागमतीको पानीले भकारीलाई छोएको देखिन्छ...
 
... अनि तलको यो झण्डै एक शताब्दी अघिको तस्बिरमा भने, वर्षाको भेलले बढेको बागमतीले भकारीलाई समेत डुबाउन लागेको देखिन्छ ।
 
त्यही बागमतीको पानीसित नातो जोडेका भकारीहरूको अहिलेको हाल अब तलका तस्बिरहरूमा...
 
यो हो चन्द्रघाट नजिकको भकारी...
 यो भकारी चन्द्रघाट कै हो । यो आँखा अस्पताल को पछाडि पर्छ, जहाँ अहिले प्रहरीले बास बसिरहेको छ, त्यसैले घाटको पेटीबाट हामी तल झर्नु पर्छ, पहिलेको बागमती बग्‍ने सतहमा...
 ... यो भकारी सम्म अब पानी आउँदैन । बालुवा उत्खनन र  प्रदूषणले खुम्चिएर गहिरो बग्‍न बाध्य भएको बागमतीलाई  (र उपत्यकाका अरू नदीलाई पनि) फेरि दुई पर्खाल बीच बग्‍न सीमित गराइए पछिको खाली ठाउँ हो यो । यो अहिले विश्‍वनिकेतन स्कूलको खेल मैदानमा परिणत भएको छ ।
 पुरेत घाटको नजिकतिर यस्तो भकारी देखियो । कुन सत्तलको खम्बा मुनिका सिंहका मूर्तिहरू, अनि फेरि कता तिर भेटिएको शिवलिङ्गलाई ऐकै ठाउँमा राखेर पुजिने ठाउँ बनाइएको रहेछ ... 
 ... अलि पर, अलि बढि अपहेलित भकारी...
 ..। अनि त्यहीँ नजिकै , बागमती छेउका नयाँ बासिन्दाहरूका लागि भकारीहरू ठडाइएका पानी ट्याञ्कीहरू...
 झारले पुर्नै आँटेको भकारी...
 ... अनि गाईको गोबर र रछानको दुर्गन्धमाझ बाँच्न खोजेको भकारी...
 हनुमान घाट नजिक यो भकारीले अलि इज्जत पाएको रहेछ। यहाँ त बागमती पनि अलि वर सम्म बगेकीछिन्...
... त्यो भन्दा पर फेरि स्याहार नपाइको भकारी... 
 पचली आईपुग्दा घाट, र दबिएको भकारी पनि, अलि सफा देखियो... 
 कालो "झोलुङ्गे" पुल नजिक भने यो भकारी खस्किँदै छ...
 पूल पछि, त भकारी र बागमतीलाई यो काँडेतारले बारिएको  चिन्तामणि पञ्चनारी कर्म पार्कले पारपाचुके झैँ गराइदिएको छ ...
 टेकु दोभान नजिकैको दाहसंस्कार गर्ने स्थलमा भकारी माथि थुपारीएको काठ...
 ...चिता जलाउने स्थल नजिकको भकारी...
 बागमती भन्दा बिश्णुमती वर पर्ने टेकु दोभान नजिकको यो भकारी... 
 ... फर्केर हेर्दा उही भकारी, दुई दिनको जिन्दगी दर्शाउने चिताको सामाग्रीको थुप्रो अगाडि...
 
टेकु दोभानमा गएर यी भकारीहरूको बागमतीसित को नाता तोडिन्थ्यो । उहिले । अहिले त हामी र हाम्रो लोभ, र गलत नीतिले बागमती र यी भकारीहरूको सम्बन्ध विच्छेद गराइ दिएका छौँ । अब "बागमती प्रोमनाड" को लागि काममा जुटेर यी भकारीहरूको बागमतीसित मिलन गराउनु छ । अनि मात्र अन्त्य हुन्छ भकारीको व्यथा ...